भैरहवा, ५ असाेज । २१औं संस्करणको लिस्नु कप फुटबल प्रतियोगिताको उपाधि रुपन्देहीको फर्साटिकर फुटबल क्लबले चुम्न सफल भएको छ । शुक्रबार तिलोत्तमा नगरपालिका–१५ स्थित पशुपति माविको खेल मैदानमा भएको फाइनल खेलमा कपिलवस्तु–११ लाई ४–० गोल अन्तरले पराजित गर्दै फर्साटिकरले उपाधि चुम्न सफल भएको हो ।
फर्साटिकरका लागि सुनील खड्का र टीकाराज गुरुङले २/२ गोल गरे । खेलको ९ मिनेटमा सुनीलले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । लगत्तै त्यसको ४ मिनेटपछि १४ औं मिनेटमा टिकाराजले गोल गर्दै टिमलाई २–० को स्थितमा पुर्याए । खेलको ३४ औं मिनेटमा पुनः टिकाराजले गोल गर्न सफल भए भने ३५औं मिनेटमा सुनीलले अर्को गोल थप्न सफल भए । पहिलो हाफमा ४ गोल गरेको फर्साटिकरले दोस्रो हाफमा भने गोल गर्न सकेन । कपिलवस्तुका ११ ले कयौं अवसर गोलमा परिणत गर्नबाट चुक्यो । जसले गर्दा टीम गोलबिहीन बन्यो । जितसँगै फर्साटिकरले ३ लाख ५ हजार रुपैयाँ नगदसहित ट्रफी हात पारेको छ ।
उपविजेतामा चित्त बुझाएको कपिलवस्तुले १ लाख ५५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो । प्रतियोगिताका कपिलवस्तु–११ का विश्वास थापा सर्वोत्कृष्ट खेलाडी घोषित भइ २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । फर्साटिकर फुटबल क्लबका बिशाल केसी उत्कृष्ट गोलकिपर घोषित भई १० हजार प्राप्त गरे। सर्वाधिक गोलकर्ता विक्की चाम्लिङ्ग, सन्जु शाही ठकुरी र निरज चौधरी गरि ३ जनालाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।
उदयीमान खेलाडी संजिवनी युवा क्लबका अनुप बुढा मगरलाई घोषित गरिएको आयोजक लिस्नु युवा क्लबका सचिव मनोज कुमार क्षेत्रीले बताए । प्रतियोगिताको अनुशासति टिम वालिङ्ग वारियरलाई घोषणा गरिएको थियो । सेमीफाइनलमा पराजित भएका देवदह फुटबल क्लब र पाल्पा–११ लाई पनि २५/२५ हजार रुपैयाँ प्रदान गरिएको छ । स्थानीय लिस्नु युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगिता लुम्बिनी र गण्डगी प्रदेशका गरी १२ टिम सहभागी भएका थिए । २०५७ सालमा स्थापित क्लबले सुरुदेखि नै फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।