६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ ।
पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न काठमाडौं आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ । गत १६ असारमा सेनाध्यक्ष नियुक्त हुनु भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो ।
भोलि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
सन् १९५० देखि नेपाल र भारतबीच एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । खुला सिमाना, समान धार्मिक, सांस्कृति एवं भूगोलले शताब्दीऔँदेखि दुई मुलुकबीचको सम्बन्धलाई अझ सुमधुर तुल्याएको छ ।